images
images

भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम

चितवन, मङ्सिर २१ गते । चितवनको भरतपुर महानगरपालिकाले ६८ वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सुरु गरेको छ । भरतपुर–२४ का ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षणसँगै बुधबारदेखि सो अभियान शुभारम्भ गरिएको हो ।

महानगर प्रमुख रेनु दाहालले महानगरको १३ औँ नगर सभाबाट पारित ‘समुदायसँग मेयर स्वास्थ्य’ कार्यव्रmम अन्तर्गत स्वास्थ्य परीक्षण सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर अभियान सुरु गरिएको बताउनुभयो ।

यस अभियानमा मोेबाइल भ्यान र औषधीसहित सय जना स्वास्थ्यकर्मी परिचालन हुने छन् । उक्त अभियानमा स्वास्थ्यकर्मीले घर घरमा पुगेर ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने छन् ।

प्रमुख दाहालका अनुसार महानगरको १४ वटा वडामा पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुने र बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुने गरी कार्यक्रम तय गरिएको छ । अभियानका क्रममा आएका नागरिकका समस्या समाधान गर्न स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने जनाइएको छ ।