images
images

दसौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने

काठमाडौँ । दसौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गर्ने क्रममा भवितव्य परेको अवस्थामा बाहेक निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।

निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिँदै उनले अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गरे ।

त्यस क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८१ मंसिरमा दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने बनाए ।

दसौँ राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि आवश्यक परामर्शका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रंगशालाको अवलोकन गरेको थियो ।

आठ विगाह क्षेत्रफलमा निर्माण भइरहेको रंगशालाको हालसम्म ७० प्रतिशत बढी काम सम्पन्न भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए । आगामी जेठ भित्र सम्पन्न गर्ने गरि काम भएको भन्दै सन्ज्यालले बहुउद्देश्यीय सहित मार्सल आर्ट र व्याडमिन्टनका समेत तीन वटा कभर्डहल निर्माण भएको जानकारी दिए ।