images
images

महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको शुक्रबार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका छन्। गत जेठ २ मा मात्र विभागको जिम्मेवारीमा आएका उनले कार्यभार ७ महिना सम्हालेका थिए।

विभाग आउनु अघि दाहाल श्रम मन्त्रालयमा थिए। त्यस अघि राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए। दाहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा एउटा प्रभावशाली बैङ्कको कर छलीसम्बन्धी अनुसन्धानमा मुख्य व्यक्तिहरूको बयान लिनुअघि सरुवा भएको चर्चा चलेको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरतसिंह भण्डारीले दाहाललाई वैदेशिक रोजगार विभागमा पठाएका थिए। अहिले श्रम मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई जिम्मेवारीबाट हटाइएको हो।

उनले वैदेशिक रोजगार क्षेत्रका बेथितिलाई सुधार गर्नमा केही प्रयासहरू गरेका थिए। त्यस्तै वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने केही म्यानपावर कम्पनीहरूलाई खारेज गरेका पनि थिए। दाहालले विभागमा काम गर्ने सिलसिलामा १४ म्यानपावरलाई निलम्बन गरेका थिए।

पछिल्लो पटक जापान कामदार पठाउने म्यानपावरहरूले त्यहाँ रोजगारीमा पठाउँदा नक्कली प्रमाणपत्र पेश गरेको प्रकरणमा उनले निलम्बन गरेका थिए। गत महिना मात्र महानिर्देशक दाहालले आफ्नो सरुवा हुने दाबी गरेका थिए। वैदेशिक रोजगार विभागमा कसलाई खटाइने भन्ने निर्णय भएको छैन।