images
images

विपीन जाेशीकाे रिहाइका लागि पहल सहित दाेहा २१ औं फाेरममा सहभागी हुन परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्।

उनी शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट कतारतर्फ प्रस्थान गरेका हुन्।

परराष्ट्रमन्त्री साउद आइतबार कतारमा सुरु हुने दोहा २१ औं फोरममा सहभागी हुन कतारतर्फ प्रस्थान गरेका हुन्। यसै क्रममा उनले इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइकाे लागि पहल गर्ने पनि बताइएकाे छ।

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनकाे रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

त्यसअघि मंसिर ७ गते परराष्ट्रमन्त्री जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।

परराष्ट्रमन्त्री साउदले मंसिर १३ गृहजिल्ला कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवाआमासँग भेट गरेका थिए।

दोहा २१ औं फोरम दुई दिनसम्म चल्नेछ।