महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालका दुग्ध उत्पादक तथा पशुपालक किसानहरूले देशको कृषि उत्पादनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा करिब ९ प्रतिशत योगदान गर्ने उल्लेख गर्दै ३० लाख किसान परिवारहरू सहभागी रहेको र राष्ट्रिय अर्थतन्त्रमा करिब ६ प्रतिशत योगदान गर्ने दुग्ध क्षेत्र ‘सहरका पैसा गाउँ पुर्‍याउने’, ग्रामीण क्षेत्रमा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने र ग्रामीण जनसमुदायको खाद्य तथा पोषण सुरक्षामा योगदान गर्ने उत्पादनको एक सशक्त क्षेत्र भएको दाबी गरेको छ ।

महासंघले, “यस्तो महत्त्वपूर्ण क्षेत्रका किसानहरूले कष्टसाध्य जीवन निर्वाह गर्दै उत्पादन र विक्रि गरेको दुधको करिब ६ अरब रुपैयाँ बराबर रकमको भुक्तानी विगत ६ महिनादेखि रोकिएको विषयले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को गम्भीर ध्यानाकर्षण भएको” जनाउँदै “किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को रहेको र विगत केही समयदेखि डिडिसीकै उच्चस्तरका कर्मचारीको संलग्नतामा विदेशी धुलो दुध ल्याउने, सीमा क्षेत्रमा विदेशी कम गुणस्तरको र नक्कली दुध भित्राई विक्रि वितरण गर्ने वातावरण बनाई नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने र स्वदेशी दुधलाई निरुत्साहित गर्दै दुध विदा (मिल्क होलिडे) गर्ने कार्य भइरहेको” खबरले महासंघलाई गम्भीर र आक्रोशित तुल्याएको बताएको छ ।

नेपाली किसानहरूको आशा र भरोसाको केन्द्रको रूपमा रहेको किसान संगठनको भएको दाबी गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले डिडिसी र विभिन्न निजी क्षेत्रका दुध कम्पनीहरूबाट किसानहरूको अरबौँ रुपैयाँ भुक्तानी नगर्ने लज्जास्पद कार्यको घोर निन्दा तथा भर्त्सना गरेको छ भने किसानहरूलाई उनीहरूले प्राप्त गर्नुपर्ने रकम अबिलम्ब भुक्तानी गर्न/गराउन जोडदार माग गरेको छ ।

महासंघले देशमा भइरहेको धुलो दुधको निर्वाध आयात तथा सीमा क्षेत्रमा भइरहेको कम गुणस्तरको र नक्कली दुधको आयात र तस्करी रोक्न, किसानहरूको बक्यौता रकम भुक्तानी दिलाउन, दुग्ध किसानहरूको हित हुने गरी अनुदान, सहुलियत ब्याजदरको कृषि ऋण र अन्य सरकारी सेवा–सुविधा प्रदान गरी स्वदेशी दुधको उत्पादन तथा खपत बृद्धि गर्न र दुग्ध उत्पादक किसानहरूलाई संरक्षण र प्रोत्साहित गर्न माग गर्दै किसानहरूको दुधको रकम नतिर्ने, न्यूनतम् मूल्य भन्दा कम मूल्यमा दुध किन्न खोज्ने, कम गुणस्तरको हानीकारक धुलो दुध आयात र तस्करी गर्ने कार्यमा संलग्न हुने र अटेरी गर्ने दुध कम्पनीका संचालकहरूलाई कालो सूचीमा राखी कडा कारबाही गर्न समेत माग गरेको छ । साथै महासंघले संस्थानलाई डुबाएर बेहाल बनाउने दुग्ध विकास संस्थान (डिडिसी)का असक्षम तथा किसानमारा पदाधिकारी र संलग्न कर्मचारीहरूलाई अबिलम्ब बर्खास्त गर्न पनि नेपाल सरकारसँग माग गरेको छ ।

महासंघले विज्ञप्तिमार्फत किसानका नाममा सरकारी तलब, भत्ता र सेवा–सुविधा उपभोग गर्ने तर देशको दुग्ध क्षेत्र र दुग्ध उत्पादक किसानहरूको बिजोग हुँदासमेत किसानहरूको पक्षमा सरकारीस्तरमा कुनै पहल नगर्ने राष्ट्रिय दुग्ध विकास बोर्ड र राष्ट्रिय किसान आयोग जस्ता सरकारी निकायका पदाधिकारीहरूलाई बर्खास्त गर्न समेत माग गर्दै दुग्ध किसानहरूको हक, हित र अधिकारको पक्षमा अखिल नेपाल दुग्धउत्पादक किसान संघ (क्रान्तिकारी) र केन्द्रीय दुग्ध सहकारी संघ लि.ले राखेका मागहरूप्रति हार्दिक ऐक्यबद्धता समेत जाहेर गरेको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठः

नेपालका दुग्ध उत्पादक तथा पशुपालक किसानहरूले देशको कृषि उत्पादनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा करिब ९ प्रतिशत योगदान गर्दछन् । ३० लाख किसान परिवारहरू सहभागी रहेको र राष्ट्रिय अर्थतन्त्रमा करिब ६ प्रतिशत योगदान गर्ने दुग्ध क्षेत्र ‘सहरका पैसा गाउँ पुर्‍याउने’, ग्रामीण क्षेत्रमा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने र ग्रामीण जनसमुदायको खाद्य तथा पोषण सुरक्षामा योगदान गर्ने उत्पादनको एक सशक्त क्षेत्र हो । यस्तो महत्त्वपूर्ण क्षेत्रका किसानहरूले कष्टसाध्य जीवन निर्वाह गर्दै उत्पादन र विक्रि गरेको दुधको करिब ६ अरब रुपैयाँ बराबर रकमको भुक्तानी विगत ६ महिनादेखि रोकिएको विषयले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को गम्भीर ध्यानाकर्षण भएको छ । किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को रहेको र विगत केही समयदेखि डिडिसीकै उच्चस्तरका कर्मचारीको संलग्नतामा विदेशी धुलो दुध ल्याउने, सीमा क्षेत्रमा विदेशी कम गुणस्तरको र नक्कली दुध भित्राई विक्रि वितरण गर्ने वातावरण बनाई नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने र स्वदेशी दुधलाई निरुत्साहित गर्दै दुध विदा (मिल्क होलिडे) गर्ने कार्य भइरहेको खबरले हामीलाई गम्भीर र आक्रोशित तुल्याएको छ ।

नेपाली किसानहरूको आशा र भरोसाको केन्द्रको रूपमा रहेको किसान संगठनको रूपमा हामी डिडिसी र विभिन्न निजी क्षेत्रका दुध कम्पनीहरूबाट किसानहरूको अरबौँ रुपैयाँ भुक्तानी नगर्ने लज्जास्पद कार्यको घोर निन्दा तथा भत्र्सना गर्दै किसानहरूलाई उनीहरूले प्राप्त गर्नुपर्ने रकम अबिलम्ब भुक्तानी गर्न/गराउन जोडदार माग गर्दछौँ । साथै, देशमा भइरहेको धुलो दुधको निर्वाध आयात तथा सीमा क्षेत्रमा भइरहेको कम गुणस्तरको र नक्कली दुधको आयात र तस्करी रोक्न, किसानहरूको बक्यौता रकम भुक्तानी दिलाउन, दुग्ध किसानहरूको हित हुने गरी अनुदान, सहुलियत ब्याजदरको कृषि ऋण र अन्य सरकारी सेवा–सुविधा प्रदान गरी स्वदेशी दुधको उत्पादन तथा खपत बृद्धि गर्न र दुग्ध उत्पादक किसानहरूलाई संरक्षण र प्रोत्साहित गर्न माग गर्दै किसानहरूको दुधको रकम नतिर्ने, न्यूनतम् मूल्य भन्दा कम मूल्यमा दुध किन्न खोज्ने, कम गुणस्तरको हानीकारक धुलो दुध आयात र तस्करी गर्ने कार्यमा संलग्न हुने र अटेरी गर्ने दुध कम्पनीका संचालकहरूलाई कालो सूचीमा राखी कडा कारबाही गर्न र संस्थानलाई डुबाएर बेहाल बनाउने दुग्ध विकास संस्थान (डिडिसी)का असक्षम तथा किसानमारा पदाधिकारी र संलग्न कर्मचारीहरूलाई अबिलम्ब बर्खास्त गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । किसानका नाममा सरकारी तलब, भत्ता र सेवा–सुविधा उपभोग गर्ने तर देशको दुग्ध क्षेत्र र दुग्ध उत्पादक किसानहरूको यस्तो बिजोग हुँदासमेत किसानहरूको पक्षमा सरकारीस्तरमा कुनै पहल नगर्ने राष्ट्रिय दुग्ध विकास बोर्ड र राष्ट्रिय किसान आयोग जस्ता सरकारी निकायका नालायक पदाधिकारीहरूलाई यथाशक्य छिटो बर्खास्त गर्न पनि नेपाल सरकारसँग माग गर्दछौँ । साथै, दुग्ध किसानहरूको हक, हित र अधिकारको पक्षमा अखिल नेपाल दुग्धउत्पादक किसान संघ (क्रान्तिकारी) र केन्द्रीय दुग्ध सहकारी संघ लि.ले राखेका मागहरूप्रति हार्दिक ऐक्यबद्धता जाहेर गर्दै तिनलाई अबिलम्ब पूरा गर्न नेपाल सरकारसँग माग गर्दछौँ । अन्यथा, देशको सबैभन्दा ठुलो क्रान्तिकारी किसान संगठनको रूपमा हामी दुग्ध उत्पादक तथा पशुपालक किसानहरूको हक, हित र अधिकारको रक्षार्थ संघर्षमा उत्रने कुरासमेत यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ ।

हार्दिक क्रान्तिकारी अभिवादनसहित ।

चित्रबहादुर श्रेष्ठ
अध्यक्ष

मितिः २०८०/०८/२१ गतेsharethis sharing button