images
images

मनाङेलाई गण्डकीको मन्त्री बनाउने मुडमा नेपाल

पोखरा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेश सरकारमा समाजवादीलाई समावेश गर्न आलटाल भइरहेको टिप्पणी गरेका छन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दीपक मनाङेलाई मुख्यमन्त्री बनाउन आलटाल गरेको उनको आरोप छ।
नीति तथा योजना आयोग, समिति सभापति र सातै प्रदेशको मन्त्रीमण्डल समाजवादीलाई समावेश गर्ने सहमती भएको उनले बताए।
‘सहमतीको कार्यान्वयन भइरहेको छैन।

सहमति कार्यान्वयको शिलशिलामा यहाँ नीति तथा योजना आयोगमा कार्यान्वयन भयो। अर्को सहमती मन्त्रीमण्डल समावेश गर्ने कुरा त्यो भएको छैन’, अध्यक्ष नेपालले भने, ‘नीतिगत रुपमा सहमती कार्यान्वयन हुन्छ भन्ने कुरा भाछ। व्यावहारिक रुपमा यहाँका मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ। मैले उहाँलाई अस्ती पनि भनिसके तपाई आलटाल नगर्नुस्। आज पनि म फोन गरौंला उहाँलाई।’

शनिबार पोखरामा भएको पत्रकार भेटघाटमा नेपालले मनाङे पार्टीप्रति प्रतिबद्ध भएकाले मन्त्री बनाउने जिम्मेवारी आफ्नो रहेको सुनाए।
मनाङको प्रदेशसभा (ख) बाट स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ उर्फ दीपक मनाङे पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए।
मनाङेले गण्डकीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने बेला समर्थन जनाएका थिए। पछि विश्वासको मत भने दिएनन्।

नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा मनाङेले विश्वासको मतसमेत दिएका थिए। सुरुमा मनाङेलाई मन्त्री बनाउने बताइएपनि मन्त्रीमण्डलले पूर्णता पाउँदा उनको नाम काटेर नेपाली कांग्रेसका जितप्रकाश आलेको इन्ट्री भएको चर्चा चलेको थियो।