लोसपा बैठकले राष्ट्रिय सभा निर्वाचनबारे निर्णय गर्ने

लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समिति बैठक पार्टीका नेता राजेन्द्र महतोले बहिष्कार गरेका छन्।

उनले ३५ वर्षदेखि स्थापनाकालदेखिका नेताहरुको नाम केन्द्रिय समितिमा छोडेको र यस विषयलाई तत्काल सम्बोधन गर्नुपर्छ भने पनि अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरेकाले बैठक बहिष्कार गरेको जानकारी गराएका छन्।

लोसपा महासचिव केशव झाका अनुसार  ३५ वर्षदेखिका सहकर्मीहरुलाई केन्द्रीय सदस्यमा राख्नुपर्ने प्रस्ताव आफूले गर्दा पार्टी अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरी बैठक बोलाएपछि आफू बैठकमा आउन नसकेको जानकारी वरिष्ठ नेता महतोले गराएका थिए।

लोसपाको आइतबार दिउँसो केहीअघि सुरु भएको  बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने पनि महासचिव झाले बताए।

संगठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा पनि बैठकमा प्रस्ताव प्रस्तुत गरिएको छ ।

साथै बैठकमा पार्टीको विधान पुनरावलोकन गर्ने र पार्टीका आन्तरिक गतिविधिका लागि प्रस्ताव आएको झाले बताए।

उनले बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने बताए।

उनले भने, ‘केन्द्रिय समितिको बैठकमा खास गरेर राष्ट्रिय सभाको निर्वाचनलाई लिएर केन्द्रीय समितिको निर्णय दिनुपर्ने भएकाले यो बैठक बसेको हो । राष्ट्रिय सभाको निर्वाचनमा भाग लिनलाई केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने छ । संगठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा केही प्रस्ताव प्रस्तुत  भएको छ । पार्टीको विधान पुनरावलोकन गर्ने सन्दर्भमा पार्टीका आन्तरिक गतिविधिका लागि प्रस्ताव आएका छन् । संगठन सुदृढीकरणका लागि पनि प्रस्ताव आएका छन् ।’