images
images

शान्ति प्रक्रियामा राष्ट्रिय सहमति नभए गणतान्त्रिक प्रक्रियाबाटै टुंगो लाग्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा शान्ति प्रक्रिया टुंग्याउने विषय वस्तुलाई प्रवेश गराउने बताएका छन् ।

आइतबार बालुवाटारमा आयोजित गम्भीर मानव अधिकार उल्लंघनका घटनाका पीडितहरूको राष्ट्रिय सञ्जालद्वारा आयोजित कार्यक्रममा उनले राष्ट्रिय सहमति भएन भने गणतान्त्रिक प्रक्रियाबाट भए पनि टुंग्याएर छाड्ने बताएका हुन् ।

उनले भने,‘अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइने छ । राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास गरिन्छ । भएन भने गणतान्त्रिक प्रक्रियाबाट टुंग्याइन्छ ।’ जनताले पाएका हक अधिकारसँगै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने प्रयास भइरहेको उनले बताए । त्यसकारण पनि छिटोभन्दा छिटो शान्ति प्रक्रियालाई सकारात्मक ढंगले टुंग्याउन जरुरी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘१२ बुँदे समजदारी, शान्ति सम्झौता र संविधान सभाबाट प्राप्त भएका जनताकोहक अधिकारमाथि धावा बोल्ने प्रयास भइरहेको छ । त्यसकारण पनि हामी अझ बढी एक भएर अगाडि जान जरुरी छ । त्यसैले छिटोभन्दा छिटो यसलाई सकारात्मक ढंगले टुंग्याउन जरुरी छ । यो पटक हामी टुंग्याउछौं ।’

प्रधानमन्त्री दाहालले आफू सरकार मात्र नभएर शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि भएकाले विशेष जिम्मेवारी रहेको बताए ।  उनले भने,‘यो ऐतिहासिक तथ्य हो म सरकार मात्र होइन शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि भएको हुनाले मेरो विशेष जिम्मेवारी यसलाई टुंग्याउने र तपाईहरुलाई खुसी बनाउने छ ।’