images
images
images

एमालेको सरकार हुँदैनथ्यो भने मेलम्चीको पानी काठमाडौँमा झर्दैनथ्यो : ओली

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको सरकार भएकाले मेलम्चीको पानी काठमाडौँमा आएको बताएका छन्।

 

 

उनले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको पनि तीव्र आलोचना गरेका छन्।

अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौँवासीका लागि उक्त पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताएका हुन्।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतवार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौँमा पुग्ने अवस्था नै नहुने दाबी गरे।

अध्यक्ष ओलीले भने, ‘यो यात्राको क्रममा अहिलेसम्म लाखौँ जनताको सहभागिता, आत्मीयता, माया, स्नेह, सम्मान हामीले प्राप्त गर्‍यौं। यो ठाउँको विकास, निर्माणको कुरा हामीलाई थाहा छ। मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ। नेकपा एमालेको सरकार हुँदैनथ्यो भने मेलम्चीको पानी काठमाडौँमा झर्ने थिएन।’

अध्यक्ष ओलीले जनतालाई निरास नहुन पनि आग्रह गरे। एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निरास हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

उनले भने, ‘कथा हालेर हुन्छ ? सार्न पर्ने हो भने सार्ने। नसार्ने हो भने त्यसलाई तयार पार्ने। मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने। पानी पस्ने मूलगेटलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकले थाहा पाउनुपर्‍यो। म भन्छु– यस्ता सरकारहरू आउँछन्, जान्छन्। गठबन्धनहरू बन्छन्, भत्किन्छन् तर हामी हाम्रो देश बिग्रन दिँदैनौँ। फेरि सकारात्मक बाटोमा फर्काउँछौँ।’

अध्यक्ष ओलीले पार्टीको संकल्प यात्राका क्रममा लाखौँ जनताको साथ, माया र सम्मान पाएको भन्दै आभार समेत व्यक्त गरे। यात्राको क्रममा सोमवार (भोलि) उनले दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।