काँग्रेसलाई जनतामा पुर्‍याउन ‘नेपाल पुकार’को उल्लेख्य भूमिका : सभापति देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई जनतामा पुर्‍याउन ‘नेपाल पुकार’को उल्लेख्य महत्व रहेको बताएका छन्।

आइतवार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भूमिका उल्लेख्य रहेको बताए। उनले नेपाल पुकारले काँग्रेसले गरेका काम कारबाही नागरिकमा लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए।

देउवाले भने, ‘नेपाली काँग्रेसलाई अझ बढी लोकप्रिय बनाउन र बढी जनतामा पुर्‍याउन नेपाल पुकारको महत्व धेरै छ। सबैले नेपाली काँग्रेसको इतिहास थाहा पाउन नेपाल पुकारले महत्वपूर्ण भूमिका खेल्छ। नेपाली काँग्रेसले गरेका कामलाई यसले जनतामाझ अझ बढी लोकप्रिय बनाउनेछ।’

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्व महोत्सव विशेष रहेको छ। २००४ सालमा काँग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो।