images

कोरोना बीमाको दाबी शंकास्पद देखिएपछि अनुसन्धान भइरहेको छः अर्थमन्त्री महत

काठमाडौँ – अर्थतन्त्री डा. प्रकाशशरण महतले सरकारको राजश्वको संकलन र पुँजीगत खर्चमा सुधार हुँदै गएको दाबी गरेका छन्। अर्थ मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले गत वर्ष भएको भन्दा राजश्व संकलन १३ प्रतिशत र पुँजीगत खर्च ६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क प्रस्तुत गरे।

उनले मूल्य अभिवृद्धिकर ७.१९ प्रतिशतले वृद्धि भएको भन्दै आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजश्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गरे। अर्थमन्त्री महतले राजश्व संकलन र पुँजीगत खर्च सरकारले अपेक्षा गरेकोभन्दा कम भए पनि विस्तारै सुधारउन्मुख हुँदै गएको बताए।

उनले मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर घटाउनको लागि नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको उल्लेख गरे। उनले हाल अन्तरबैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको बताए।

२०७९ चैत्र महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर १०.४८ प्रतिशत रहेकोमा २०८० असोज मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९४ प्रतिशतमा झरेको उनको भनाइ छ। पछिल्लो समय सरकारसँगको समन्वयमा बैंकहरुले पनि विस्तारै ब्याजदर कम गर्दै गएको दाबी अर्थमन्त्रीले पत्रकार सम्मेलनमा गरे।

उनले मौद्रिक नीतिको समिक्षामार्फत चैतसम्म ऋण तिर्न समय अवधि थप गरिएको भन्दै यसले व्यवसायीको आत्मबल बढाउने अपेक्षा रहेको बताए। उनले चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब पुगेको उल्लेख गरे।

उनले बैंकको निक्षेपमा पहिलो चार महिनामा ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा २४४ अर्ब पुगेको बताए। उनले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५९ अर्ब चालु खाता, ९९ अर्बले सोधनान्तर वचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेको दाबी गरे।

उनले विप्रेषणको आप्रवाह असोजसम्ममा ३० प्रतिशले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था रहेको जिकिर गरे। उनले २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन रहेको तथ्याङ्क राखे। समग्रमा मुलुकको आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको उनको भनाइ थियो।

उनले मुलुकमा उत्पादन र रोजगारी वृद्धि रातारात नहुने भन्दै त्यसको लागि केही समय लाग्ने भन्दै सकारात्मक दिशातर्फ अर्थतन्त्र उन्मुख भएको उल्लेख गरे। मौद्रिक नीतिको समिक्षापछि पुँजीबजारले सकारात्मक दिशा समाएको भन्दै अर्थमन्त्री महत उत्साहित द‍ेखिए।

उनले पुँजीबजार निकै तल झरेको गुनासो भए पनि मौद्रिक नीतिको समिक्षापछि बजारमाथि गएको बताए। अर्थमन्त्री महतले अर्थ मन्त्रालयले तिर्नुपर्ने दायित्व भुक्तानीको लागि स्रोत सुनिश्चिता गरेर चाँडै तिर्ने तयारी गरिरहेको बताए। उनले उखु किसान,दुध र निर्माण व्यवसायीहरुको भुक्तानी स्रोत सुनिश्चिता नभएकाले विस्तारै भुक्तानी गरिरहेको बताए।

उनले सरकारले सम्झौता भएबमोजिमका दायित्व भुक्तानीहरु नगर्दैमा अर्थतन्त्र संकटमा गयो भन्न नहुने बताए। उनले सम्झौताबमोजिम काम सम्पन्न भइ अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको उल्लेख गरे।

उनले उखुको ८० करोड भुक्तानी भर्खरै गरेको भन्दै बाँकी रहेको चाँडै दिने बताए। उनले अर्थ मन्त्रालयमा भुक्तानीको लागि आइपुगेको फाइलहरुको भुक्तानी थोरै मात्रै बाँकी रहेको बताए।

अर्थमन्त्री महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको दाबी गरे। उनले कोरोना बीमाको भुक्तानीका लागि आएका दाबी शंकास्पद देखिएपछि त्यसको पुनः अनुसन्धान भइरहेको बताए।

उनले वास्तविक विवरण आएपछि बीमाको भुक्तानी हुने स्पष्ट पारे। सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १० अर्ब रुपैयाँ निकासा गर्नुपर्नेछ। करिब १ लाख विमितले कोरोना बीमाबापतको रकम पाउन बाँकी छ।