images
images

नेतृत्वकर्ताहरु सत्ता र स्वार्थकेन्द्रित हुँदा देश पछि पर्‍योः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थकेन्द्रित हुँदा देश पछि परेको बताएका छन्।

मध्यपहाडी लोकमार्ग यात्राअन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले कुनै श्राप परेर नेपाल पछि परेको नभइ स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गरे।

उनले नेपाल गरिब हुनुको कारण सत्तासिनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुचि नहुनु र चासो नहुनु रहेको बताए।

उनले भने, ‘सरकार उपयुक्त बनेन भने, दृष्टिकोण भएको सरकार बनेन भने, देशप्रति इमान्दार सरकार बनेन भने जनता र जनताका हीतहरुप्रति सरकार जवाफदेही भएन भने देश गरिब हुन्छ। पछाडि पर्छ। कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन। सत्ता स्वार्थ भएर आत्मकेन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ?’