उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डा बन्द गरौँः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिले नेपालको उच्च शिक्षा अस्तव्यस्त भएको बताएका छन्।

उच्च शिक्षा सुधारका लागि शिक्षामा भएको दलियकरण बन्द हुनुपर्ने उनले बताएका छन्। उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्,’हाम्रो उच्च शिक्षा अस्तव्यस्त छ। त्यसको प्रमुख कारण हो, शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो। यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ।’

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायतका नियुक्ति भागबन्डा र स्वार्थका आधारमा नभई विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सीप, दक्षता, कार्ययोजना भएको व्यक्तिलाई नियुक्ति गर्नुपर्ने उनको भनाइ छ। यस विषयमा आफूलाई प्रधानमन्त्रीलाई पनि भेटेर कुरा गरेको उनले बताएका छन्।

‘उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थानबिन्दु हुन सक्छ देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति!,’ उनले भनेका छन्,’अब त्रिभुवन विश्वाविद्यालयको उपकुलपतिलगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गरौँ। यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु। हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुनेछ। उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन।’