images
images

जनताले अनुभूत गर्नेगरी काम नभए कारबाही गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले जनताले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिएका हुन्।

आव २०७९/८० को प्रथम चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा देशको समग्र अर्थतन्त्र विकास निर्माणसँग सम्बन्धित सूचकहरू सकारात्मक देखिए पनि सन्तोष गर्ने ठाउँ नभएको उल्लेख गर्दै उनले एकअर्काका कमी–कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा गठन भएको सरकारको एकवर्षे कार्यकाल पूरा हुने चरणमा छ, यस अवधिमा अपेक्षा गरिए अनुसारका काम हुनसकेका छैनन्, अब चौमासिक नभई वार्षिक कार्यक्रम, कार्ययोजना र उपलब्धिलाई वस्तुनिष्ठ समीक्षा गर्दै यसबीचमा भएका कमजोरी र सबल पक्षलाई चिरफार गरी जनताले अनुभूत गर्नेगरी काम गर्न सबैसँग अपिल गर्दछु।’

गत साउनमा प्रतिबद्धता गरेअनुसारको परिणाम दिन केही मन्त्रालय असमर्थ भएकामा त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले निश्चित कार्यअवधिभित्र तोकिएको लक्ष्य पूरा नगर्नेलाई जिम्मेवारीबाट हटाउनु बाहेक आफूसँग अर्को विकल्प नरहेको चेतावनी दिए।

उनले अर्को समीक्षा बैठकमा कार्ययोजनासहित प्रस्तुत हुन सबैलाई निर्देशन दिएका छन्।