अशोक सिग्देल नेपाली सेनाका भावी प्रधानसेनापति

काठमाण्डु, २८ मंसिर– उपरथी अशोक सिग्देल रथीमा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गरेको हो । सैनिक मुख्यालय जंगी अड्डाले वरिष्ठ उपरथी सिग्देललाई बढुवा गर्न रक्षा मन्त्रालय समक्षा सिफारिस गरेको थियो । योसँगै सिग्देल भावी प्रधानसेनापति बन्ने करिब पक्काजस्तै भएको छ ।

उमेर विवादका कारण उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि वरिष्ठताका आधारमा उपरथी सिग्देलको रथीमा बढुवा भएको हो । बलाधिकृत रथी सीताराम खड्का आगामी पुसमा कार्यकाल सकाएर घर जाँदैछन् ।

त्यसलगत्तै सिग्देल बलाधिकृत रथी बन्नेछन् । हालका प्रधानसेनापति प्रभुराम शर्माको ३० वर्षे कार्यकाल आगामी ०८१ साल भदौ २४ मा सकिँदैछ । शर्माको अवकाशपछि सिग्देल नेपाली सेनाको प्रधानसेनापति बन्ने छन् ।