काठमाण्डाै महानगरले आज २९औँ महानगर दिवस मनाउँदै

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै छ । दिवसको मूल समारोह टुँडिखेलमा हुनेछ ।

गएका वर्षहरुमा दिवसको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ वसन्तपुरमा यसपालि गाडी प्रवेशमा निषेध गरिएको छ भने ठूलो स्पीकर राखेर गरिने कार्यक्रम रोकेको महानगरले जनाएको छ । यसकारण यस वर्षको कार्यक्रम टुँडिखेलमा गर्न लागिएको मेयर बालेन्द्र शाहले बताउनु भएको छ ।

महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो । कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् । यसैबीच, २९औँ महानगर दिवसको सन्दर्भ पारेर भएको बाँसुरीवादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूह पहिलो भएको छ ।

यस्तै वडा नं. १६ को श्री श्वेत विनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं. २० को अशोक विनायक व्यवस्थापन समाजको समूह तेस्रो भएको छ । प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दुर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारी हुनुहुन्थ्यो ।

विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै उपमेयर सुनिता डङ्गोलले, अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र वाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । विजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।