images
images

सरकारलाई दिएको समर्थन यथावत् छ : अध्यक्ष ठाकुर

काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीभित्रबाटै दबाब बढिरहँदा पार्टी अध्यक्ष महन्थ ठाकुरले संघीय सरकार एवम् प्रादेशिक सरकारहरुलाई लोसपा नेपालले दिएको समर्थन यथावत रहेको स्पष्ट पारेका छन् । थमन विक हत्या प्रकरणमा लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि ठाकुरमाथि सरकारको समर्थन फिर्ता लिनुपर्ने दबाब बढेको थियो ।

यस सन्दर्भमा केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण सूचना आएको बताउँदै अध्यक्ष ठाकुरले लोसपा नेपाल सत्तारुढ गठबन्धनको एउटा महत्वपूर्ण पक्षको रुपमा रहेको स्पष्ट पारेका हुन् । शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका र न्यायपालिका अलग-अलग दूई स्वतन्त्र अस्तित्वमा रहेको हुनाले एकले अर्कालाई प्रभावित गर्न सक्दैन भन्ने मान्यतालाई लोसपा नेपालले आत्मसात गर्दै आएको उनको भनाई छ ।

‘नेपाली जनताको बर्षौं देखिको अनवरत संघर्ष र हजारौंको वलिदानीको परिणाम स्वरुप प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकाश तथा प्राप्त उपलब्धिहरुको रक्षा गर्न सत्तारुढ गठबन्धन भित्रको पार्टीहरु बिचको सम्बन्ध थप मजबुत गर्दै देश भित्र रहेका वर्तमान चुनौतिहरुको सामना गर्नको लागि संघिय सरकार एवम् प्रादेशिक सरकारहरु प्रभावकारि रुपमा कार्य सम्पादन गर्नु पर्ने लोसपा नेपालको ठहर रहेको छ,’  अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

385522125_1669631220195037_2150904520443904511_n

यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गरेका थिए । नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनको आग्रह थियो ।