भजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभएको र मात्र सुशासनका एजेन्डा भएको रवि को दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले मदन भण्डारी र कांग्रेसले वीपी कोइरालाको विचारलाई बेचिरहेको आरोप लगाएका छन् ।
पार्टीले शनिबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले भजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभएको र मात्र सुशासनका एजेन्डा भएको बताए ।

‘हामीसँग ठेकेदारहरुको र कार्यकर्ताको लिस्ट छैन । बेच्नका लागि हामीसँग मदन, वीपी कोही छैनन् । हामीसँग सुशासनको एउटा एजेन्डा छ ’, उनले भने, ‘हृदय छ केही गरेर देखाउने र क्षमतावान योग्यता भएका व्यक्तित्वहरू हाम्रो पार्टीमा छन् बस् । यत्तिकै आधारमा हामी अगाडि बढेका हौं ।’

उनले भूकम्पपछि आफू जाजरकोट गएको देखेर सत्ताधारी दलका नेताहरु पनि राज्यलाई खर्चको भार बोकाएर देखाउनका लागि जाजरकोट गएको दाबी गरे ।
भूकम्पस्थलमा कम्युनिष्टहरु रास्वपासँग प्रतिष्पर्धाका लागि हेलिकोप्टर प्रदर्शन गर्न मात्र पुगेको उनको आरोप थियो । आफूहरुसँग प्रतिस्पर्धा गर्न नभई जनताको घाउमा मलम लगाउन जान उनले आग्रह गरे ।

सभापति लामिछानेले विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भलो नहुने भन्दै भागबण्डामा  पदहरु बाँडेको कारण देशमा लुटतन्त्रको धन्दा बढेको टिप्पणी गरे । एकपटक आफूलाई अवसर मिलेमा लुटको खेतीमा हिँडेकाहरुलाई रोक्ने जिकिर उनले गरे ।