images
images

भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न

भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ। भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ। सडकछेउमा उपकरण राख्नका लागि फाउन्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए।

सुवेदीका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्न तीनवटा एचजिडी मेसिनले काम गरिरहेका छन्। ठेकेदार कम्पनीले चारवटा समूहमा चार स्थानबाट काम गरिरहेको उनले बताए।

भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको उनले जानकारी दिए। यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ। सुवेदीका अनुसार अमेरिकी डलरमा टेन्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु २ अर्ब ५० करोड हाराहारी हुन आउँछ।

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकदेखि केन्द्रीय बस टर्मिनलसम्म सबै तार भूमिगत गरिने उनले जानकारी दिए। बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिनेछ। सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भए पनि केही थप समय लाग्न सक्ने उनले बताए।

सुवेदीले भने, ‘चालू आर्थिक वर्षको मसान्तसम्ममा विद्युतीकरण भूमिगत गर्ने काम सम्पन्न हुनेछ।’ भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको छ। एसियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो।रासस