images
images

बिनातयारीका आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउँदैनौँः भौतिकमन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बिनातयारीका आयोजना ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन्।
आइतबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा भौतिकमन्त्री ज्वालाले पूर्वतयारी विना आयोजनाको ठेक्का लगाउँदा आयोजना समयमै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै मन्त्रालयले आगामी दिनमा बिना तयारीका आयोजना ठेक्का प्रक्रिया अगाडि नबढाउने उल्लेख गरे।

मन्त्री ज्वालाले विगतका सरकारले पूर्वतयारी बिना आयोजनाको ठेक्का लगाउँदा वर्तमान सरकारले पुरानै आयोजनाको भार बोक्न बाध्य रहेको आरोप लगाए। उनले आयोजनाको तयारी बिना टेण्डरपछि समस्या आउने र आयोजनाको समय लामो हुने गरेको भन्दै बिना पूर्वतयारीका आयोजना टेण्डर प्रक्रियामै नलैजाने जिकिर गरे।

मन्त्री ज्वालाले बहुवर्षीय ठेक्का मापदण्डअनुसार आयोजनाको ठेक्का लाग्न इआइए, आइएइ र डिपिआर पूरा हुन आवश्यक रहेको बताए। उनले पछिल्लो समय सरकारले काम नगर्ने आयोजनाका ठेक्का तोड्ने काम पनि गरिरहेको उल्लेख गरे। उनले ठेक्का तोड्दा पनि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने र समय धेरै लाग्ने भएकाले केही आयोजनामा ठेक्का तोड्न नसकिएको बताए।

उनले आयोजनाको रकमान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको बताए। संसदीय समितिहरूले अर्थ मन्त्रालय र भौतिक मन्त्रालयलाई सँगै राखेर छलफल गराए भौतिक मन्त्रालयलाई सहज हुने उनको भनाइ छ।

अन्तरमन्त्रालय गत समन्वयमा समस्या रहेको भन्दै मन्त्री ज्वालाले अर्थ, कानुन र वन मन्त्रालयमा गएका फाइल त्यहीँ अड्किने गरेको दाबी गरे। उनले संयन्त्र नै बनाएर अन्तरमन्त्रालय समन्वय गराउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएकाले केही सहजता हुने विश्वास रहेको बताए।