images
images

उपत्यकाको विकास एकैपटक हुनुपर्छ : बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उपत्यकाको विकास एकैपटक हुनुपर्ने धारणा राखेका छन् ।

ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले उपत्यकाको सौन्दर्य बढाउन सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए ।

‘काठमाडौं र ललितपुर महानगरपालिका दुईवटा आपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन् । काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाडौं उपत्यका बाहिरका मानिसहरुलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आएपनि काठमाडौं जस्तो लाग्छ, काठमाडौं गए पनि ललितपुर जस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैपटक हुनुपर्छ,’ उनले भने, ‘कोही पहिलो, दोस्रो, तेस्रोभन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्छ ।’

उनले उपत्यकाको विकास एकैपटक गर्न संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको जनाए । ‘केही कुरा संघीय कानुन र स्थानीय कानुनमा बाझिएका छन् । जस्तै फोहोर व्यवस्थापन बन्चरेडाँडामा गर्दै आएका छौं । त्यसलाई स्थानीय सरकार आफैँले गर्नेकुरालाई बाधा अड्चन परेको छ, कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीयज्यूलाई आग्रह र अनुरोध गरें । जसकारण उपत्यकाको फोहोर व्यवस्थापन ५ होइन, ५० होइन सयौं वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ,’ उनले भने ।

मेयर शाहले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा-अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न पनि मेयर शाहले आग्रह गरे ।

प्रमुख शाहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने दाबी गरे ।