images
images

उपत्यकाका सडकमा रहेका सबै खाल्डाखुल्डी पुरिसकेँ : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताए। उनले तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताए।

उनले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताए।

उनले भने, ‘तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ। त्यसका लागि नेपाल सरकार तयार छ। पूर्वाधार निर्माणको क्षेत्रमा, सडक निर्माण, खाल्डाखुल्डी ममर्तका कुरा हुन्, काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरा होस्, यी सबै काममा सहकार्य गरेर अघि जाऔँ। विकास निर्माणको काममा सहकार्य गर्न हामी तयार छौँ। काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न।’

मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताए।