images
images

एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल को शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले समितिले दूरसञ्चार प्राधिकरणको नियमाकीय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताएका हुन्।

सांसदहरुले एनसेल छानबिन प्राधिकरण आफैँले गर्नसक्ने भए पनि समिति बनाइएको भन्दै समितिको काम, कारबाहीप्रति आशंका व्यक्त गरेका थिए। जवाफमा प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा प्राधिकरणले प्रचलित कानुनबमोजिम भए/नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने बताए।

प्राधिकरणलाई कारबाही गर्न कसैले नरोकेको र समिति बनाएर रोक्ने मनसाय पनि नराखिएको उनले स्पष्ट पारे। उनले एनसेल खरिद, बिक्री प्रक्रियामा राजश्व छलि, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानूनी व्यवस्थाको उल्लंघन भएको हो कि भन्ने चासो रहेको उल्लेख गर्दै यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकोले समिति बनाइएको बताए।