images
images

कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ : सभापति देउवा

पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरु पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका छन्। उनले सरकार गठनका निम्ति सबै पार्टी कांग्रेससँग आउनुलाई जीत भएको मान्नुपर्ने बताए।

नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीको पोखरामा सुरु प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘यो संविधानअनुसार एक पार्टीको बहुमत पुर्‍याउन धेरै सजिलो छैन, धेरै गाह्रो छ। यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ। आवश्यकता पनि हो। त्यसैले अहिले हाम्रो पार्टीको आकर्षक सिद्धान्तलाई मानेर सबै पार्टीहरु मिलेर आएका छन्। त्यस मानेमा हाम्रो पार्टीको जीत भएको मान्नुपर्छ हामीले।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले कांग्रेसलाई बहुमतको पार्टी एकजुट हुनुको विकल्प नरहेको सुनाए। ‘हाम्रो पार्टी अहिले सबैभन्दा ठूलो पार्टी भएको छ। भोलिका दिनमा अझ ठूलो पार्टी बहुमतै ल्याउन बनाउनेतिर लाग्ने हो कि’, उनको आग्रह छ।

जसरी भए पनि पार्टीलाई एक बनाउनुपर्नेमा उनको जोड छ। आपसमा मेलमिलाप गराएर आपसमा एकता बनाएर भरसक बहुमतको पार्टी नभए सबभन्दा ठूलो पार्टी बनाउन उनले नेता कार्यकर्तालाई निर्देशन दिए।

देउवाले देशभर नै कांग्रेसमा उत्साह देखिएको बताए। प्रदेश सम्मेलनबाट कांग्रेसमा उत्साह देखिएको प्रस्ट हुने उनको दाबी छ। कांग्रेसमा आकर्षण बढेकाले अरु पार्टी, मिडियासँग विदेशमा पनि पार्टी एक हुन्छ कि हुँदैन चिन्ता देखाइरहेको उनको भनाइ थियो।