images
images

प्रधान सेनापतिको जवाफ: कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्रयाकको काममा हाल प्रचलित कानुनहरुले रोकेको बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्रयाक निर्माणबारे भइरहेको प्रगति र भ्रष्टाचारका चर्चाबारे भएको छलफलमा प्रधानसेनापति शर्माले सेनाले गरेको काम पारदर्शी हुने दाबी समेत गरेका छन् ।‘हामी गलत गर्दैनौँ,सेना नियम कानुन र पारदर्शिता अनुसार काम गर्छ’, सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘गल्ती हुनुहुँदैन म पनि भन्छु ।’

‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपर्थ्यो, ४ वटा रुख काट्न ९ महिना लगाइदिएको छ, कसको गल्ती, म कसैको गल्ती भन्दिन, यो हजुरहरुले बनाएको नियम हो’, शर्माले सांसदहरुलाई भने ।

आफूले गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न नसकेको शर्माले बताए । ‘खै त फास्ट ट्रयाकमा नियम दिन सक्नुभएको ? काम चाहिँ फास्ट ट्र्याकमा गर्नुस् भन्ने नियम कानुन चाहिँ २०१७ सालदेखिको देखाउनुहुन्छ । यही तालले हो भने २०८३ सालसम्म पनि बन्दैन’ प्रधान सेनापति शर्माले भने ।