images
images

प्राधिकरणलाई एनसेलले बुझायो सेयर खरिद बिक्रीको विवरण

काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझाएको छ । बुधबार एनसेलले सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बारे विवरण उपलब्ध गराएको प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले बताएका छन् ।

एनसेलको मुख्य कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।  खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादित बनेको छ ।

एनसेलले पठाएको विवरणमा के छ भन्ने कुरा अध्ययन गर्न बाँकी रहेको उनले बताए । “एनसेलले विवरण बुझाएको छ । अब, यसमा के छ भन्ने कुराको अध्ययन हुन्छ र त्यसपछि बाँकी कुरा थाहा हुन्छ,” बाह्रखरीसँग बोल्दै उनले भने ।

एनसेलको मूख्य कम्पनी आजियाटाले डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो ।

एनसेलको ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को नाममा छ भने २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ ।  मलेसियन कम्पनी आजियाटाको बेलायती कम्पनी आजियाटा युके लिमिटेड अन्तर्गत रेनोल्ड होल्डिङ्स रहेको थियो ।

आजियाटा युके लिमिटेडले नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई रेनोल्ड होल्डिङ्स बिक्री गरेको हो ।  यो खरिद बिक्री प्रकरणमा अस्वाभाविक मूल्य र प्रक्रियाले विवाद चुलिएपछि अहिले सरकारको उच्चस्तरीय समितिले पनि छानबिन गरिरहेको छ ।