images
images

अहिलेको गठबन्ध अवस्थामा मुख्यगरी भ्रष्टाचारविरुद्ध, सुशासन र समृद्धिका पक्षमा ऐतिहासिक रेकर्डयुक्त काम: प्रधानमन्त्री

मोरङ – प्रधानमन्त्री पुष्पकमल दाहालले गएको एक वर्षमा सोचेअनुसार नतिजा दिन नसकेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग प्रधानमन्त्री दाहालले अपेक्षाअनुसार नतिजा दिन नसके पनि सरकार असफल नभएको दाबी गरे।

प्रधानमन्त्री दाहालले भने, ‘मैले जति र जसरी सोचेको छु। त्यसअनुसार सफल भइयो भन्ने मेरो पनि दाबी छैन। किनभने गठबन्धन सरकारका धेरै सीमा हुन्छन्, अफ्ठ्यारा हुन्छन्। सबैलाई मिलाएर लैजाने जिम्मेवारीको कुरा हो।’

प्रधानमन्त्री दाहालले अहिलेको गठबन्ध अवस्थामा मुख्यगरी भ्रष्टाचारविरुद्ध, सुशासन र समृद्धिका पक्षमा ऐतिहासिक रेकर्डयुक्त काम भएको दाबी गरे।

उनले भने, ‘अहिले जे जति काम भएका छन्। यसलाई हेर्दा मूलतः सफल भए भन्ने हो। यसबीच ऐतिहासिक रेडर्क बनेका छन्। इतिहासकै रेकर्डयुक्त काम अहिलेको सरकारले बनाएको छ।’

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध अहिलेको सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन्। यद्यपि, उनले एनसेल प्रकरणबारे धेरै कुरा नकोट्याउन आग्रह गरे। प्रधानमन्त्री दाहालले भने, ‘एनसेल प्रकरणबारे तथ्यसहित संसदीय समितिमा धेरै कुरा प्रस्ट पारेको छु। यो विषय धेरै नकोट्याउनुस्। यसरी वातावरण असहज बनाउने काम नगरौं। विधि, विधान र कानुनभन्दा बाहिर केही गर्न दिइँदैन।’

त्यसैगरी, प्रधानमन्त्री दाहालले संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको पछिल्लो धार्मिक अभिव्यक्तिलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन्।

उनले भने, ‘मैले यस विषयलाई गम्भीरतापूर्वक लिएको छु। एकचोटि मन्त्रीसँग कुरा गरेपछि कसरी जाने निर्णय हुनेछ। कुरा जसरी बाहिर आइरहेकाछन्, ती कुरा गम्भीर नै छन्।’

प्रधानमन्त्री दाहालले कोसी प्रदेशको नामकरणको विषयमा संयमित हुनुपर्नेमा जोड दिए। उनले नामकरणको विषयमा आन्दोलनमा रहेकाहरूलाई भेटेर उत्कर्षमा जान नहुनेमा जोड दिएको बताए। विवादमा देखिएको विषयलाई छलफलको माध्यमबाट समाधान गरिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।