images
images

उपप्रमुखको गाडीमा आगजनी

बर्दीबास : महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

आगजनीबाट प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।

उपप्रमुख महतोको गौशाला १ रामनगरस्थित घर आँगनमा पार्किङ गरिएको अवस्थामा शनिबार राति गाडीमा आगजानी भएको प्रहरीले जनाएको छ।

घरका परिवारले राति करिव २ बजेतिर गाडीमा आगो लागेको देखेपछि इलाका प्रहरी प्रहरी कार्यालयलाई खबर गरेको उपप्रमुख महतोले जानकारी दिइन

इलाका प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा राति नै घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट डीयुको ठूलो बोतल फेला पारेको छ। बोतलबाट आएको गन्धको आधारमा आगजनी पेट्रोल छर्केर लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरी निरीक्षक यादवका अनुसार आगजनी कसले र किन गरेको स्पष्ट हुन सकेको छैन। घटनाको स्थलगत मुचुल्का गरी सघन अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।