images
images

लुम्बिनीमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थपिए

बुटवल — लुम्बिनीमा सरकार गठन भएको ८ महिनापछि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार बाँकेको निर्वाचन क्षेत्र नं. १(१)बाट निर्वाचित माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास र प्यूठानको निर्वाचन क्षेत्र १(२)बाट निर्वाचित सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको रुपमा सपथग्रहण गराएका छन् ।

वैशाख १४ गते ३ सदस्यीय मन्त्रीपरिषद् बनाएका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गर्दै ७ सदस्यीय बनाएका थिए । १० मन्त्रालय रहेको लुम्बिनीमा आइतबारको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैंले राखेका छन् ।

तेस्रोपटकको मन्त्रिपरिषद् विस्तारमा दीपेन्द्रलाई रोक्न सफल भएपनि मन्त्रिपरिषद्मा संस्थापनइतर पक्षबाट सहभागिता गराउन भने उनी असफल भएका छन् । आइतबारबाट कांग्रेसबाट सपथग्रहण लिएका प्यूठानका थापा पनि संस्थापन पक्षकै हुन् । यसअघि लुम्बिनीमा स्वास्थ्यमन्त्री बनेका दाङका राजु खनाल पनि संस्थापन पक्षबाटै मन्त्री बनेका थिए ।

मन्त्रिपरिषद् विस्तारमा कांग्रेसभित्र संस्थापन इतर पक्षधर नेता शेखर कोइराला र गगन थापाले पश्चिम नवलपरासीका विश्वप्रेम पाठक र पाल्पाका वीरबहादुर रानालाई मन्त्रीमा अघि सारेका थिए । तर, मुख्यमन्त्री चौधरीले संस्थापन इतर पक्षको आवाज सुनेनन् । लुम्बिनी प्रदेशमा यसअघि माओवादीबाट धनबहादुर राना अर्थमन्त्री, लोसपाका सन्तोषकुमार पाण्डे गृह मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भुमी व्यवस्था मन्त्री, जनतमका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।