images
images

शिक्षकको तलब कर्मचारीको भन्दा बढी हुनुपर्छ : सांसद पौडेल

काठमाडौँ : पूर्व शिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले निजामती कर्मचारीको भन्दा शिक्षकको तलब एक रुपैयाँले भए पनि बढी हुनुपर्ने बताएका छन्।​

आइतवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पौडेलले निजामती कर्मचारीको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताएका हुन्। उनले शिक्षकहरूको तलब एक रुपैयाँले भए पनि कर्मचारीको भन्दा बढी हुनुपर्ने धारणा राखेका हुन्।

उनले विद्यालय बनाउने जिम्मेवारी शिक्षकको भएको भन्दै शिक्षक खुशी भएर विद्यालय नगएसम्म र राम्रो सेवा सुविधा नपाएसम्म शिक्षकहरूले संगठनात्मक गतिविधि गरिरहने बताए। त्यसो हुँदा शिक्षण सिकाइमा स्तरीयता पनि नहुने उनको भनाइ छ। उनले हाल शिक्षकमा देखिएका सबै खाले समस्यालाई एकमुष्ट रूपमा सम्बोधन गर्नुपर्ने बताए।

उनले भने, ‘विद्यालय बनाउने भनेको शिक्षक नै हुन्। जबसम्म शिक्षक खुशी भएर विद्यालयमा प्रवेश गर्दैन त्यस वेलासम्म संगठन चलिरहन्छन्। अधिकारका कुरा भइरहन्छन्। शिक्षण सिकाइको स्तरीयता हुँदैन। शिक्षा मन्त्रालयले निजामती कर्मचारीको हकमा एउटा नीति लागू गर्ने, त्यही विद्यालय सुधार्ने शिक्षकका बारेमा फरक तरिकाले सोच्ने कुरा गलत छ। एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी हुनुपर्छ भन्ने पक्षमा छु। राज्यले त्यसरी प्रोत्साहन नगर्ने हो भने शिक्षा प्रणाली अरूले सुधार्न सक्दैन।’

उनले कार्यालय सहयोगी, लेखापाल र इसिडी शिक्षकको समस्या पनि विद्यालय शिक्षा ऐनले समाधान गर्ने गरी आउनुपर्ने बताए।