images
images

‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक’

काठमाडौँ – शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक देखिएका छन्। पीडितकेन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरु टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन्।

बालुवाटारमा शीर्ष नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का नेताहरुबीच छलफल भएको र पीडितमैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताए।

उनले भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानून बन्ने सहमति शीर्ष नेताहरुमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रस्तुत हुने बताए।

उनले सरकार पीडितमैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिब जुटेको बताए।

उनले भने, ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेष गरी तीन दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भयो। पीडितमैत्री कानून बनाउने हो भने तत्काल अघि बढोस्। आउँदो हिउँदे अधिवेशनमा भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानून बन्ने हो भने नेकपा एमाले यही कुरा भनिरहेका छौँ। सरल ढंगले अघि बढ्छ।’