images
images

मन्त्री किरातीको राजीनामा माग्ने तानाशाहका पक्षधर हुन्ः सरल सहयात्री

काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले तानाशाहका पक्षधरहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको टिप्पणी गरेका छन् । आज (सोमबार) सनातनी धार्मिक समुदायहरुले मन्त्री किरातीको राजीनामा माग गर्दै पशुपती क्षेत्रमा प्रदर्शन गरेका थिए । मन्त्री किरातीले क्रिश्चयन समुदायहरुले आयोजना गरेको एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर उनको आलोचना भइरहेको छ ।

नेता सरल सहयात्रीले मन्त्री किरातीको राजीनामा माग्नेलाई तानशाह पक्षधरको संज्ञा दिएका छन् । मन्त्री किरातीले धार्मिक एवं सामाजिक समानताको अधिकार संविधानमा निर्दृष्ट अधिकार हो भन्ने विषयलाई अलि बढि जोड दिएर बोलेको बाहेक अरु केही पनि नभएको उनले बताएका छन् ।

मन्त्रीको सामान्य शैलीमाथिी भइरहेको प्रहार हेर्दा समाजका विभिन्न मानसिकता बोकेका ठेकेदारहरुले सामान्य उत्पीडित वर्गमाथि जात र धर्मका नाममा के कस्ता ज्यादती गरे भन्ने अनुमान लगाउन गाह्रो नहुने उनले बताएका छन् ।

उनले मन्त्री किरातीको विरोधमा उत्रिएकाहरुको फोटो शेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्ः

यिनीहरु कति हदसम्मका तानशाहका पक्षधर हुन भन्ने उदाहरण हो यो प्रदर्शन । मन्त्री सुदन किराँतीको अभिव्यक्ति जस्ताको तस्तै सबैले सुनेका छन् । धार्मिक एवं सामाजिक समानताको अधिकार संविधानमा निर्दृष्ट अधिकार हो भन्ने बिषयलाई अलि बढिी जोड दिएर बोलेको बाहेक अरु केही होइन भन्ने छर्लङ्ग छ । एउटा मन्त्रीको सामान्य शैलीमाथि यत्रो तबाहा गर्न खोज्ने मानसिकता भएका समाजका विभिन्न ठेकेदारहरुले समाजका सामान्य उत्पीडित वर्गमाथी जात, धर्मका नाममा के कस्ता ज्यादती गरे होलान् ? फेरिपनि जनताको धार्मिक सहिष्णुता र भावनामाथि खेलेर राजनीतिक कुत्सित मनसाय पूरा गर्ने सपना नदेख्नु ।