images
images

त्रिभुवन विमानस्थलको सिसिटिभी फुटेज ९० दिनसम्म राख्न मिल्ने गरी स्टोरेज बढाइँदै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सिसिटिभी फुटेजको ९० दिनसम्म राख्न मिल्ने गरी स्टोरेज वृद्धि भइरहेको छ।

विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै ९० दिन स्टोरेज रहने गरी क्षमता विस्तारको कार्य अघि बढाइएको जानकारी दिए।

गत मंसिर २१ गते फ्लाई दुबईमार्फत् आएका चन्द्र घलेले ल्याएको १४ किलो सुन बरामद भएपछि विमानस्थल भन्सार कार्यालयले छानबिन समिति गठन गरेको थियो।

प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको छानबिन समितिले अनुसन्धान गर्न प्राधिकरण कार्यालयसँग सिसिटिभी फुटेज माग गरेको थियो। तर प्राधिकरणले २१ दिनसम्मको मात्रै फुटेज उपलब्ध गराउँदा अनुसन्धानमा समेत जटिलता आएको थियो।

समितिले भन्सार कार्यालयलाई बुझाएको प्रतिवेदनमै यसबारे उल्लेख गरिएको छ।

यसबारे समाचारहरू प्रकाशन भएपछि उड्डयन कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको हो।

‘१६ टिबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरूमा केही समय लाग्न गएकोले केही सिसिटिभीको स्टोरेज २१ दिनभन्दा बढी नभएको प्रतिवेदन र समाचारमा आएको सन्दर्भमा यसको क्षमता विस्तारको कार्य सुरू गरिएको ९० दिन नै नपुगेकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमता विस्तार भइसकेको छ भने बाँकी पनि क्रमश; बढ्ने क्रममा रहेको छ,’ तिवारीले भनेका छन्।

३ महिनाको फुटेज हुनेगरी स्टोरेज क्षमता वृद्धिका लागि विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नागरिक उड्डयन प्राधिकरणसँग बजेट माग गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। तर कोभिड-१९ का कारण बजेट अभाव भएर प्राथमिकतामा नपरेको महाप्रबन्धक तिवारीले बताएका छन्।

आर्थिक वर्ष २०७९/८० मा व्यवस्था भई बोलपत्र प्रक्रियामार्फत् खरिद गरी गत असोज २७ मा रेकर्ड विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरोकारवाला निकाय प्रमुखबीच बैठक बसेर क्षमता वृद्धिको काम अघि बढाएको पनि उड्डयन कार्यालयले जनाएको छ।

विमानस्थलमा ५०० भन्दा बढी संख्यामा सिसिटिभी क्यामेरा जडान गरिएका छन्।