images
images

अवैध रुपमा गिटी बालुवा उत्खनन् गरेको आरोपमा क्रसर व्यवसायी पक्राउ

सिरहा । सिरहामा अवैध रूपमा गिटी बालुवा उत्खनन गरेको आरोपमा क्रसर व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ७ मा सञ्चालित कमलेश्वरी कमला प्रशोधन उद्योग प्रालिका सञ्चालक जनकपुर उपमहानगरपालिका ७ का मोहम्मद खलिल राईन रहेका छन् ।

उनलाई सिरहा डिभिजन वन कार्यालको टोलीले नियन्त्रणमा लिएको हो । उनीमाथि कर्जन्हा नगरपालिका १ बल्टीयास्थित चुरे वन क्षेत्र भित्रको कमला नदी बगरबाट अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गरी खरिद बिक्रीमा संलग्न रहेको आरोप लागेको छ ।

सो आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जानकारी दिए । चुरे वन क्षेत्र पर्ने कमला नदीको बगरमा गत शनिवार अवैध रूपमा एक्सकाभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको झाले बताए ।

सोही क्षेत्रमा अवैध उत्खनन गरी खरिद बिक्री गरेको आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले पनि जानकारी दिए ।

‘यो क्षेत्रको ठेक्का र वातावरण सर्वेक्षणको विषयमा कुनै सहमति तथा समन्वय नभएकाले हामीले नियन्त्रणमा लिएका हौँ’ वन अधिकृत मिश्रले भने, ‘स्थानीय पालिकाले ठेक्का लगाएको भए त्यसको प्रक्रिया र आवश्यकताको आधारमा कारबाही अगाडि बढ्छ ।’