images
images

मेयर रेनु दाहालद्वारा एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

चितवन । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास (१–८) बाट कपडा वितरण सुरु गरेको हो ।

कार्यक्रमको सुरुवात गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत तीन वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् ।

यस आर्थिक वर्षमा १५ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत आज भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका १० वटा विद्यालयका नौ सय ३४ बालबालिकालाई वितरण गरिएको हो ।

नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

यसअघि तीन वर्षमा ४५ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।