मन्त्री ज्वालाको गाडी आगजनीमा संलग्न १७ जना प्रहरी नियन्त्रणमा: प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीमा संलग्न भएका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रोजगार अनुमति प्रणाली (इपिएस)आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनले  भने,‘आन्दोलनकारीले मन्त्रीको गाडीमा आगजनी गर्दा सुरक्षाकर्मीलाई हातपात गरेका थिए। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए। सोहिक्रममा ललितपुर प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको हो।’

मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका मन्त्री ज्वालासहित उनका दुई जना पिएसओलाई गाडीबाट निकालेर प्रर्दशनकारीले आगजनी गरेका थिए ।

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।  प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।