images
images

ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुँदै

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो ।

ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरुमा झै यस वर्ष पनि नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा सडक महोत्सव गर्न लागिएको जनाएको छ ।

पौष १५ गते आईतवार साँझ साढे ५ बजे सुरु हुने महोत्सवको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नुहुने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताउनुभयो । उहाँले ठमेलको सबै क्षेत्रमा विभिन्न व्यवसायीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अतर्राष्ट्रिय आकर्षक गन्तव्यको रुपमा परिचित गराउने अभियानमा जुट्न आग्रह गर्नुभयो । उहाँले पर्यटकको सुरक्षाका लागि ठमेलका गल्लीमा सिसि क्यामेरा जडान गरिएको बताउनुभयो । २४ सै घण्टा सामुहिक अनुगमन टोली चलाउने पनि बताउनुभयो ।

अध्यक्ष शर्माले गत वर्ष १ लाख ३० हजार स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षमा आगमन भएको र यस वर्षमा पनि एक लाख ८० हजार पर्यटक आउने अपेक्षा रहेको बताउनुभयो ।