images
images

नेपाली खेलकुदका निकायहरुको भूमिकाबारे समीक्षा हुन आवश्यक छः मन्त्री लिम्बू

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भूमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताएका छन्।

शंखमूलमा शनिबार आयोजित नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५ औं साधारणसभाको अवसरमा मन्त्री लिम्बूले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भुमिका विषयलाई लिएर समीक्षा गर्न आवश्यक रहेको औंल्याए।

खेलाडीका भावनाअनुरूपमा गर्न सक्यौँ वा सकेनौँ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो।

मन्त्रीले लिम्बूले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताए।

त्यसैले सराकोरवाला निकाय मिल्नुको विकल्प नभएको आवश्यकता औंल्याए। खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने पनि मन्त्री लिम्बूले बताए।

मन्त्री लिम्बूले सरकार एक्लैले मात्र खेलकुद क्षेत्रको विकास गर्न सम्भव नभएको पनि जिकिर गरे। उनले निजी क्षेत्र, सरोकारवाला र राज्य एक भएर काम गर्ने हो भने खेलकुद क्षेत्रले धेरै फड्को मार्ने बताए। लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गर्न उत्तिकै आवश्यकता रहेको मन्त्री लिम्बूले बताए।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भए पनि अनुभव त्यति लामो हुन नसकेको स्वीकार गरे। यसबीच एनओसीले उतारचढाव सामना गर्नुपरेकाले पनि त्यति धेरै गतिविधिहरू नभएको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठको भनाइ छ।