images
images

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रूपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएको थियो । प्रधानमन्त्री दाहालले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

पीडित परिवारजनसँग प्रधानमन्त्री दाहालले शुक्रबार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउने बित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको बताउनुभयो । उहाँले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास दिलाउनुभयो ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । सो घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको छ भने रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख निलम्बित भएका छन् ।

यस्तै, गृह मन्त्रालयले पनि सो घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको जनाएको छ । मन्त्रालयले समितिबाट प्राप्त हुने प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ ।

बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो ।

भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका सङ्घीय सांसद पनि सहभागी थिए ।