विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयो :माओवादी केन्द्र

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन्। उनले जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे‍।

उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको बताए। उनले कार्यकर्ताहरुमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे।

उनले अभियानले पुराना नेताहरु पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि हुँदै जान उल्लेखनीय भूमिका खेलेको बताए। उनले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताए।