images
images

सर्लाही घटना अपडेट : मृतकको खुल्यो पहिचान‚ शव अझै स्थानीयको घेरामा

काठमाडौँ : सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको विषयलाई लिएर भएको झडपका क्रममा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।

झडपका क्रममा जयशंकर साहको मृत्यु भएको खुलेको हो। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले शव स्थानीयले घेरेर राखेको  बताए। त्यहाँ लगाइएको कर्फ्यु जारी नै रहेको पनि उनले बताए।

सो क्षेत्रमा थप प्रहरी बल पठाइएको स्थानीय प्रशासनले जनाएको छ। प्रादेशिक अस्पताल बनाउने विषयमा स्थानीयहरुको प्रदर्शन रहेको र सोही क्रममा भएको झडपमा साहको मृत्यु भएको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन भने बाँकी छ।

नगरपालिकाले शुरुमा अस्पताल बनाउने भनेर निर्णय गरेको तर कार्यान्वयन नहुँदै स्थगन गरिएको विषयमा स्थानीयले प्रदर्शन गरेका बताइएको छ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरी हवाई फायर तथा अश्रुग्याँससमेत प्रहार भएको बताएका छन्।