images
images

पर्वतको कुश्मालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर’ घोषणा गरिएको छ ।

बागलुङ

जेष्ठ ७,

पर्वतको कुश्मालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर’ घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरूलाई विभिन्न रोगबाट बचाउन नौ प्रकारका खोपहरू लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर’ घोषणा गरिएको हो । नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पूर्ण खोप सुनिश्चित सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नु भएको थियो । उहाँले कुश्मा नगरपालिकाभित्रका बालबालिकाहरू रोगबाट जोगिने अपेक्षा रहेको बताउनुभयो । घोषणाले मात्रै सबै कुराको प्राप्ति नहुने भन्दै उहाँले आगामी दिनमा जन्मिने सबै बालबालिकालाई खोप लगाउन अभिभावकले ध्यान दिन अनुरोध गर्नुभयो । उपप्रमुख स्वस्थानी रिजालले खोप जीवनकै महत्त्वपूर्ण विषय रहेकाले खोप सुनिश्चितताको लागि स्वास्थ्यकर्मीको भूमिकाको प्रशंसनीय रहेको बताउनुभयो । सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले बालबालिकाले खोप पाउनुपर्ने नैसर्गिक अधिकार भएकोले बालबालिकालाई खोजिखोजी खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई अनुरोध गर्नुभयो । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता घोषणा अभियानमा खटिएका स्वास्थ्यकर्मी र वडा खोप समन्वय समितिका अध्यक्ष एवं वडाध्यक्षलाई सम्मान पत्रले सम्मान गरिएको छ । कुश्मा नगरपालिकाका १४ ओटा वडाका ३६ वटा खोप केन्द्र र ३८ वटा खोप सेसनबाट प्रत्येक महिना खोप सेवा प्रदान हुँदै आएको छ ।