सरकारले दुरसञ्चारको कार्यवाहक अध्यक्ष अधिकारीलाई तोक्यो, यस्ता छन् मन्त्रीपरिषद्का अन्य निर्णय

काठमाडौँ- सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। खनालको राजीनामा स्वीकृत गर्नुका साथै रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने, रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ।

यस्तै सरकारले मन्त्रिपरिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छूटेका सहिदहरुको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने पनि निर्णय गरेको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।

मंगलबारकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विकास परिषदमा सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी/व्यक्तिहरु मध्येबाट २५ जना सदस्यहरु मनोनयन गर्ने पनि निर्णय गरको छ।

डेडिकेटेड र ट्रंक लाइनको महसुल सम्बन्धमा उठेका विषयहरुको सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र उर्जा मन्त्रालयका सहसचिव रहेको समिति गठन गर्ने तथा हाललाई उद्योगीहरुको काटिएको विद्युत लाइन खोल्न निर्देशन दिने सरकारको निर्णय छ।