images
images

‘नेपाल सत्कार दिवस’ मनाउँदै हान

काठमाडौँ : होटल संघ नेपाल (हान)ले माघ २ गते  काठमाडौँमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ।

होटल क्षेत्रको विकासमा मद्दत पुर्‍याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो। संघका अध्यक्ष विनायक शाहले होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावना र चुनौतीबारे समीक्षाका लागि सत्कार दिवस बनाउन लागेको बताए। उनले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिवत् रूपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताए।

उनले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुरामा  सरोकारवालासँग छलफल गरी कार्यनीति अगाडि ल्याउने बताए। संघले तयार गरेको नेपाल होटल यिअरबुक–२०२४ र इ–लर्निङ प्लाटफर्म’मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक सार्वजनिक गरिने बताए। उत्सवमा सातै प्रदेशका रैथाने मौलिक खाना स्वदेशी र विदेशी गरी ३ सयजना पाहुनालाई सत्कार गर्ने बताए। उनले संघले सत्कार दिवसलाई आगामी वर्षदेखि निरन्तरता दिने बताए।

शाहले भने, ‘२०२३ पर्यटन आगमनमा सुखद रह्यो। १० लाखभन्दा बढी पर्यटक नेपालमा आउनुभएको छ। त्यही गतिमा सडक मार्ग हुँदै भारतीय पर्यटक आएको र आन्तरिक पर्यटक पनि बढेकाले २०२३ राम्रो रह्यो। ३० देखि ३५ लाख पर्यटक थेग्न सक्ने क्षमता पर्यटन पूर्वाधार पुगेको छ। त्यसका लागि माघ २ गते सात्कार दिवस ‘नेपाल हस्पिटालिटी डे’ भनेर काठमाडौंमा मनाउँछौँ। यसले समग्र होटल उद्योगको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा समीक्षा गर्छौं।’

उनले २०२३ पर्यटक आगमनको हिसाबमा सुखद रहेको भन्दै आगामी वर्ष थप वृद्धि गर्ने गरी काम गर्नु आवश्यक रहेको बताए। उनले सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेको भन्दै ३० देखि ३५ लाख पर्यटकलाई धान्नसक्ने क्षमताका पर्यटन पूर्वाधार बनेको बताए।