images
images

देशभरका कुमाल समुदायले चितवनमा मनाए माघे सङ्क्राति

चितवन । आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरु चितवनमा भेला भएर माघे सङ्क्राति पर्व मनाएका छन् ।

कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख  रेनु दाहालले कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताइन । उनले महानगरपालिकाले कुमाल समुदायको संस्कार संस्कृति संरक्षणका लागि सहायोग गर्ने बताइन् ।

यही पुस २८ गतेबाट सुरु भएको कार्यक्रम आज प्रकृतिको पूजासँगै समापन भएकाे थियाे । कुमाल समुदायले माघे सङ्क्रान्तिलाई माघे सङ्क्राति भन्छन् । आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर ( कुमालले जानकारी दिए ।

राप्ती र नारायणी नदीको सङ्गमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमाललाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको उनले बताए ।

सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शनको साथै युवा पुस्तालाई पहिचानसम्बन्धी प्रशिक्षण दिइएको छ । मेला परिसरमा कुमाल जातिको पुरानो मौलिक घरसमेत निर्माण गरिएको छ । गोलाघाटको नदीकिनारमा सबैभन्दा आकर्षणको केन्द्र यही घर बनेको छ ।

मेलाका प्रचारप्रसार संयोजक राजन कुमालका अनुसार माघे सङ्क्राति कुमाल समुदायका लागि सबैभन्दा ठूलो पर्व पनि हो । पछिल्लो समय कुमाल जातिको आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुँदै गइसकेको हुँदा संरक्षणका लागि नि यस्ता कार्यक्रम आवश्यक पर्न थालेको उनले बताए ।

चितवन जिल्लामा अधिकांश कुमाल बाहिरी जिल्लाबाट बसाइ सरेर आएको हुँदा तीन पुस्ता पहिलेदेखि नै भाषा, संस्कृति लोप भइसकेको उहाँले बताउनुभयो ।
कुमाल जातिमा माटोको भाँडा बनाउने परम्परा पनि करिब करिब लोप भइसकेको हुँदा मौलिक सीप संरक्षण र संवद्र्धनका लागि पनि यो मेला विशेष हुने उहाँ  बताए । कुमाल जातिले माटोको भाँडा बनाउने पेसा अपनाउने कुरा थाह पाए पनि चितवनमा अहिलेसम्म कुनै पनि कुमालले यो काम गरेको पाइएको छैन ।

नेपाल कुमाल समाजले कुमाल समुदायको लागि माघे सङ्क्रान्ति दसैँ, तिहारभन्दा ठूलो पर्व भएको जनाएको छ । यस पर्वका बारेमा सरकारले सम्बोधन गरोस् भनेर भरतपुरमा यो पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । कुमाल समुदाय देशका ७०  जिल्लामा बसोबास गर्छन् ।

पछिल्लो जनगणना अनुसार एक लाख २९ हजार सात सय दुई रहेका छन् । यस कार्यक्रममा ७० जिल्लाबाट झण्डै छ हजार कुमाल समुदायका मानिस सहभागी भएका छन् । आज कुमाल समुदायमा बिहानै घरको मुली खोलामा गएर नुहाएपछि घरमा आइ पितृको नाममा पानी चढाए । त्यस्तै कुखुरा काटेर चामल र रगतमा मुछेको टिका लगाइएको कुमाल समाज नेपालले जनाएको छ । आज माघे सङ्क्रान्तिको दिन छोरी कुटुम्बलाई घरमा बोलाएर पुजिएको छ भने कुखुरा, सुँगुरको मासु, माछा, सेलरोटी, खुदौरो, भाते जाँड जसता मिठामिठा परिकार तथा प्राकृतिक फल खान दिइएको छ ।