images
images

खानेपानी मन्त्रालयको अपिल- मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्नू

काठमाडौं । खानेपानी मन्त्रालयले माघ १ गतेदेखि काठमाडौँमा पुनः वितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुद्ध भएको जनाएको छ।

मन्त्रालयले अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर सुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको जनाएको हो।

अपिलमा भनिएको छ, ‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ। पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएता पनि फ्लसिङ सँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न हुन मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा हार्दिक अपिल गर्दछ।’

खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरीयतामा शंका नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ। गएको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारबाट मेलम्चीको पानी पुनः वितरण कार्यको शुभारम्भ गरेका थिए।