images
images

जसले एकै वर्षमा लोकसेवाका ५ परीक्षा उत्तीर्ण गरिन्

गुल्मीकी मनिषा जिसी ९विष्णु घर्ती०ले एकवर्षभित्र लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समयमा पाँचवटा परीक्षा उत्तीर्ण गरेकी हुन् ।

उनले कोसी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह उत्तीर्ण गरेकी हुन् ।

उनले भनिन्, “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ ।”

परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन् । “स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ”, उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।”

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी थिइन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् ।