images
images

आजदेखि सुरु हुँदै यू-१९ विश्वकप, उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र वेस्टइन्डिज भिड्दै

उमेर समूहको प्रतिष्ठित क्रिकेट प्रतियोगिताको रुपमा रहेको यू-१९ एकदिवसीय विश्वकप आजबाट सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’मा रहेको आयोजक दक्षिण अफ्रिका र वेस्ट इन्डिज ब्लोमफन्टेनस्थित जेबी मार्क्स ओभललमा प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै अर्को खेलमा समूह ‘ए’ मा रहेको अमेरिका र आयरल्यान्ड भिड्न छन्। खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सुरु हुनेछ।

यो एकदिवसीय विश्वकप दक्षिण अफ्रिकाका विभिन्न ५ स्थानमा खेलाइने छ। फाइनल खेल ११ फेब्रुअरीमा विलोमुर पार्कमा हुनेछ। प्रतियोगितामा कुल ४१ खेल हुनेछन्। यो विश्वकपको १५ औं सिजन हो। सुरुमा प्रतियोगिता श्रीलंकामा हुने भनिए पनि आइसिसीले श्रीलंकन क्रिकेट बोर्डलाई नोभेम्बरमा प्रतिबन्ध लगाएका कारण श्रीलंकाबाट आयोजकको अधिकार खोसेर दक्षिण अफ्रिकालाई दिएको थियो।

१६ टोलीलाई ४ समूहमा विभाजन
यू-१९ विश्वकप यो संस्करणमा नयाँ ढाँचामा आयोजना हुँदैछ। १६ टोलीलाई ४-४ समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइने छ। प्रत्येक समूहबाट ३-३ टोली सुपर-१२ मा प्रवेश गर्नेछन्। यहाँबाट ६-६ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइने छ। यी दुई समूहका शीर्ष २ टोलीबीच सेमिफाइनल खेल हुनेछ। सेमिफाइनल विजेता टोलीबिच फाइनल खेल आगामी ११ फेब्रुअरीमा हुनेछ।

नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
प्रतियोगितामा नेपाली यू-१९ टोलीले भने आफ्नो पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्ने छ। प्रतियोगिता अघिको अभ्यासमा राम्रो लयमा देखिएको नेपालले टेस्ट टोलि विरुद्धको खेलसँगै आफ्नो अभियान सुरु गर्नेछ। नेपालको यो यू-१९ विश्वकपमा आठौं सहभागिता हो। यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो।

भारत सर्वाधिक सफल टोली
यू-१९ विश्वकपमा डिफेन्डिङ च्याम्पियन भारत सर्वाधिक सफल टोली हो। अहिलेसम्म खेलिएका १४ प्रतियोगितामा भारतले सबैभन्दा धेरै ५ पटक ट्रफी चुमेको छ। भारतले यसअघि २०२२ को फाइनलमा इंग्ल्याण्डलाई हराएर उपाधि जितेको थियो। भारतपछि अस्ट्रेलियाले ३ पटक र पाकिस्तानले २ पटक यू-१९ विश्वकपको उपाधि जितेका छन्। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले समान एक-एक पटक उपाधि जितेका छन्। श्रीलंका र न्युजिल्यान्ड तथा अफगानिस्तान लगायत टोली भने उपाधि जित्न सकेका छैनन्।

प्रतियोगिता कहाँ हेर्ने?
स्टार स्पोर्टसँग सन् २०२७ सम्मका सबै आइसिसी कार्यक्रमहरूको प्रसारण अधिकार छ। अन्य आईसीसी प्रतियोगिताहरू जस्तै, यू-१९ विश्वकप पनि स्टार स्पोर्ट्स टिभी र हटस्टार ओटीटीमा हेर्न सकिन्छ।