images
images

‘समुदायसँग मेयर’ स्वास्थ्य कार्यक्रमबाट ९ हजार लाभान्वित

चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार जनाभन्दा बढी लाभान्वित भएका छन् ।

भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरु देखिएका छन् । कार्यक्रमअन्तर्गत भरतपुरको २९ वटै वडामा सञ्चालन भएको अभियानमा टोल-टोलमा प्रयोगशाला सुविधासहितका चिकित्सक र स्वास्थ्यकर्मी पुगेका छन् ।

यसका लागि १०२ जना स्वास्थ्यकर्मीले परिचालित भएका थिए । हालसम्म ९ हजार ४१८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले बताए ।

स्वास्थ्य जाँचबाट बिरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरे नगरेको बारे पुनः परीक्षण नगरेको पाइएको छ ।

यस्तै मधुमेह, उच्च रक्तचापबाट पीडित कतिपयलाई आफ्नो समस्या थाहा नभएको समेत पाइएको अधिकृत भट्टले जानकारी दिए । स्वास्थ्य जाँचपछि जेष्ठ नागरिक, अपांगता भएका तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिइने औषधि दिइएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ ।

 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको बताइन । ‘जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ महानगरका सबै वडामा अभियान चलाइएकोे हो,’ उनले भनिन् ।

मंसिर २० गते भरतपुर–२४ बाट समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरु भएको हो । स्वास्थ्य जाँचमा समस्या देखिएका बिरामीहरूको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा व्यवस्था मिलाइएको थियो । अभियान माघ मसान्तसम्म चल्ने महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले बताए ।