images
images

निजगढ विमानस्थलको काम अघि नबढाएकोमा प्रधानमन्त्रीसँग माधव नेपाल रुष्ट

काठमाडौँ – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष नेपालले संसद र संसदीय समितिले पटक–पटक स्थलगत अवलोकनसमेत गरेर अघि बढाउन भनिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै पनि अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो गरेका छन्।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले पनि आफूसँग सो विमानस्थलको शिलान्यास गर्ने भनि आफैले गरेको प्रतिबद्धता हालसम्म पनि कार्यान्वयनमा नआएको बताए।

देउवा र दाहालले काम अघि बढाउने वचन दिए पनि लागू नगरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले त्यसलाई छिटो अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।

मंगलबार संघीय संसद, प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निजगढ विमानस्थललाई अघि नबढाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले काम आवश्यक नै नभएको भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम गरेको आरोपसमेत लगाए।